फोहरमा फ्याकिएका चाउचाउ, विष्कुट, तेलका पाकेटलगायतका प्लाष्टिकबाट सजावटका सामाग्री बनाएर इटहरी ४ को जागृतीटोलका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् । फोहरको थुप्रोले बजार र सहरहरु दुर्गन्धित भएर समस्या भैरहेका वेला जागृती टोलका महिला भने फोहर नपाएर समस्यामा परेका छन् । सडकमा फालिएका फोहरबाट सजावटका सामाग्री बनाएर आम्दानी गर्न थालेपछि अहिले उनिहरु पाहुनालाई कोशेलीमा फोहर ल्याइदिन आग्रह गर्छन् । सडक र कन्टेनरमा फालिने फोहरबाट सजावटका सामाग्री बनाउने कला सिकेपछि जागृती टोलका महिलाको आम्दानी मासिक १० हजार देखि १५ हजारसम्म पुगेको छ ।
बिष्कुट, चाउचाउ, दुघ र खानेतेलका प्याकेटलाई सजावटका सामाग्री बनाउन जानेपछि आफ्नो दिउसोको समय कटाउन सजिलो भएको बताउँछिन् सुमन राई । ‘नानीहरुलाई स्कुल पठाएपछि दिउसोको समय त्यतिकै खेर जान्थ्यो । अहिले त फोहर भनेर फालिने सामाग्री भेला गरेर सजावटका सामान बनाउँदै बित्छ कमाइपनि राम्रो भएको छ,’ उनले भनिन् ।
